महोत्तरी। महोत्तरीसहित मधेशका विभिन्न जिल्लामा दिनभरि अत्यधिक गर्मी भए पनि पछिल्ला चार दिनदेखि रातिको वर्षाले सर्वसाधारणलाई राहत मिल्न थालेको छ। जेठको चौथो सातासँगै प्रत्येक रात केहीबेर सघन वर्षा भइरहेको स्थानीयवासीले बताएका छन्।

यसअघि जेठको तेस्रो सातादेखि तापक्रम ३८ देखि ३९ डिग्री सेल्सियससम्म पुग्दा जनजीवन निकै कष्टकर बनेको थियो। अत्यधिक गर्मीका कारण विभिन्न स्थानीय तहले विद्यालयसमेत बन्द गरेका थिए। तर पछिल्ला दिनमा राति नियमित वर्षा हुन थालेपछि मौसममा केही सुधार आएको छ।

ADVERTISEMENT

स्थानीयवासीका अनुसार दिनभरि गर्मी भए पनि रातिको वर्षाले वातावरण शीतल बनाएको छ। गौशाला–१ रामनगरका गणेश महतोले नियमित वर्षाले गर्मीबाट राहत मिल्नुका साथै खेतीपातीलाई पनि फाइदा पुगेको बताए।

ADVERTISEMENT

वर्षाका कारण खेतबारीमा पर्याप्त चिस्यान पुगेपछि किसानहरू धान र कोदोको ब्याड राख्न व्यस्त भएका छन्। बर्दिबास–६ कृष्णपुरका किसान रघु काफ्लेका अनुसार हिले ब्याड राख्न नसकिए पनि धुले ब्याड राख्ने काम तीव्र रूपमा भइरहेको छ।

किसानहरूले उखु, मकै र तरकारीबालीका लागि पनि पछिल्लो वर्षा निकै लाभदायक भएको बताएका छन्। लामो समयसम्म पानी नपर्दा सिँचाइ र खानेपानीको समस्या हुने चिन्ता बढेको थियो। अहिले भने निरन्तर वर्षाले इनार, चापाकल तथा अन्य जलस्रोतमा पानीको मात्रा बढ्ने आशा पलाएको छ।

ADVERTISEMENT

यता, मौसममा सुधार आएपछि गर्मीका कारण बन्द गरिएका विद्यालयहरू पनि पुनः सञ्चालन हुन थालेका छन्। स्थानीयवासीले नियमित वर्षाले खेतीपातीसँगै दैनिक जनजीवनमा पनि सहजता ल्याएको बताएका छन्।