काठमाडौँ। देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बादल देखिएको छ ।
महाशाखाले आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा समेत हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ ।







