काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका धेरै स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

ADVERTISEMENT

साथै मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।