काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले हावाहुरी सुरु हुने र समाप्त हुने समयसमेत तोकेर सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार १६ वैशाख साँझ ५:४५ बजे हावाहुरी सुरु भई १७ वैशाख बिहान ७:४५ बजेसम्म रहने सम्भावना रहेको छ। यस अवधिमा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।

साथै, मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा देशका धेरै स्थानमा प्रभाव पार्ने सम्भावना रहेको विभागले जनाएको छ।

ADVERTISEMENT

मौसमविद्का अनुसार नेपालको पूर्वी भूभाग (भारतको उत्तराञ्चल क्षेत्रतिर) र पश्चिमी भूभाग (हिमाञ्चल प्रदेशतिर) सक्रिय रहेका प्रिमनसुन प्रणालीहरू हाल नेपालतर्फ प्रवेश गरी आपसमा मिसिएका छन्। स्थानीय प्रणालीसमेत थपिँदा केही स्थानमा भारी वर्षा र जोखिम बढेको हो।

ADVERTISEMENT

मौसमविद् उज्वल उपाध्यायका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र विस्तार हुँदै जानेछ भने १६ वैशाखमा १५ वैशाखको तुलनामा बढी वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

उनका अनुसार हालको मौसम प्रणालीको प्रभावले काठमाडौं उपत्यका, आसपासका भूभाग तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा वर्षा गराउनेछ। भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालीगण्डकी क्षेत्रसम्म बेला–बेलामा वर्षा भइरहने सम्भावना छ।

यस्तो अवस्थामा त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु तथा बीपी राजमार्गमा विशेषगरी रातिको समयमा यात्रा नगर्न मौसमविद्ले सुझाव दिएका छन्।