काठमाडौँ। हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

ADVERTISEMENT

त्यसैगरी, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण, यात्रु तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

ADVERTISEMENT