काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको आठौं विशेष साधारण सभाले दुई अर्ब बराबरको प्रिफेरेन्स सेयर जारी गर्ने र चार सञ्चालक समिति सदस्य नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार बैंकको केन्द्रीय कार्यालयमा बसेको साधारणसभाले यस्तो निर्णय गरेको हो ।
आठौं विशेष साधारण सभाबाट बैंकको नियमावलीअनुसार समुह क संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै अनिलकुमार ज्ञवाली, समुह ख सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का केसी गरी चारजना सञ्चालकहरु निर्वाचित भएका छन् ।
यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न दुई अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार सेयर जारीसमेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।
विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरु आआफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु छन् । मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको बाणिज्य बैंकमा करिव नौ वर्षभन्दा बढी कार्यानुभवका साथै सेवामूलक उद्योगलगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् । अर्का सञ्चालक ज्ञवालीसँग नेपालका ठूला दुईवटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत रहेको छ ।
अर्का सञ्चालक समितिका सदस्य पण्डितले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । अर्थशास्त्रमा एमएस्सी÷एमएको अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् ।
सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएकी सञ्चालक समिति सदस्य खड्कासँग विभिन्न अन्र्तराष्ट्रिय विकास संस्थाहरू युएनडिपी, आइएलओ, गिज, अक्सफाम जिबीलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी कार्यानुभव रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।