पेरु । पेरुमा हेलिकप्टर दुर्घटना हुँदा सेनाका आठ कर्मचारीको मृत्यु भएको छ। लागुऔषध खेती तथा ओसारपसारका लागि परिचित दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो।
बीबीसीका अनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। दुर्घटनाअघि उक्त हेलिकप्टरले तीन जना सैनिकको उद्धार गरेको थियो।
अधिकारीहरूका अनुसार हेलिकप्टर अपुरिम्याक, एनी र मन्तारो नदीहरूको उपत्यकामा अवस्थित सानाबाम्बा सहरनजिकै दुर्घटनाग्रस्त भएको हो। उक्त क्षेत्रलाई भिआरएईएम (VRAEM) भनिन्छ। यो पेरुको सबैभन्दा ठूलो कोका उत्पादन गर्ने उपत्यका हो र ‘कोकिन उपत्यका’का रूपमा समेत परिचित छ।
यो क्षेत्रमा लागुऔषध तस्करी गर्ने गिरोहसँगै पूर्वविद्रोही समूह साइनिङ पाथका सदस्य पनि सक्रिय छन्। हेलिकप्टर सेनाको गस्ती टोलीलाई उक्त क्षेत्रबाट बाहिर निकाल्ने अभियानमा खटिएको थियो।
पेरुको रक्षा मन्त्रालयले दुर्घटनामा पाइलट मात्रै जीवित रहेको जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हेलिकप्टर र त्यसमा सवार नौ सैनिक खोजी तथा उद्धारका क्रममा फेला परेको उल्लेख छ।
हेलिकप्टरमा सवार सैनिकहरूलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे भने अधिकारीहरूले स्पष्ट पारेका छैनन्। उद्धार गरिएका सैनिकहरू पनि दुर्घटनामा ज्यान गुमाउनेमध्ये रहेको पुष्टि गरिएको छ।
दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। अधिकारीहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।












