काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६ प्रतिशत लाभांश बाँड्ने भएको छ । शुक्रबार बसेको ४९१औं सञ्चालक समितिको बैठकले सेयरधनीरुलाई आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि यो निर्णय लागू हुनेछ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार वितरणयोग्य मुनाफाबाट ०८२ असार मसान्तको चुक्तापूँजी १४,७६,९०,१२,९६६ को ५ प्रतिशतले हुने ७३,८४,५०,६४८ बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने ३,८८,६५,८२३ सहित जम्मा ७७,७३,१६,४७१ लाभांश प्रस्ताव गरेको छ ।
२०६४ वैशाख ७ गतेबाट कारोवार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष ०६५÷६६ देखि नै सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष ०६५/६६ देखि आर्थिक वर्ष ०८१/८२ सम्मको औसत लाभांश दर ११.८७ प्रतिशत छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गरेको बैंकले केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा पनि बैंकले दिँदै आएको छ ।
सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १९ लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।








