काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘म्यान सिटिजन्स अस्पायरिंग म्यानेजर अवार्ड’ यस वर्ष गौरव उप्रेतीलाई प्रदान गरेको छ। उक्त पुरस्कारको घोषणा माघ २४ गते आयोजित नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा गरिएको थियो।पुरस्कार प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतबाट प्रदान गरिएको हो। विजेताको छनोट प्रक्रिया बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारी सम्मिलित समितिबाट गरिएको थियो।

बैंकका अनुसार ‘म्यान सिटिजन्स अस्पायरिंग म्यानेजर अवार्ड’ ले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

यसअघि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच एमबीए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौता अनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था छ।

बैंकले पछिल्लो समय विभिन्न नवीन सेवाहरू सञ्चालन गर्दै आएको छ। ‘बैंक अफ द इयर २०२४ र २०२५’ जस्ता अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल सेवा सञ्चालनमा ल्याइसकेको छ।

त्यसैगरी, बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको जनाएको छ। मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउनुका साथै क्रस–बैंक टेलर सुविधा समेत सुरु गरिएको छ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।