काठमाडौं । सरकारले विपद् प्रभावित परिवारलाई प्रदान गरिने क्षतिपूर्ति तथा राहत रकम दोब्बर बनाउने निर्णय गरेको छ।

शनिबार ललितपुरमा आयोजित विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेट–नेपाल) को वार्षिक साधारणसभाका अवसरमा भएको छलफल कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का प्रमुख डा. धर्म उप्रेतीले यसबारे जानकारी दिएका हुन्।

ADVERTISEMENT

उनका अनुसार शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद् प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका परिमार्जन गर्दै राहत रकम दोब्बर बनाउने निर्णय गरेको हो।

ADVERTISEMENT

यसअघि प्रतिपरिवार मधेस क्षेत्रमा दुई लाख, पहाडी क्षेत्रमा तीन लाख र हिमाली क्षेत्रमा चार लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था थियो। नयाँ निर्णयअनुसार अब मधेसमा चार लाख, पहाडमा छ लाख र हिमाली क्षेत्रमा आठ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

भोटेकोशी बाढीपीडितको ऋणको म्याद एक वर्ष थप

प्राधिकरणका प्रमुख डा. उप्रेतीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई ऋणमा विशेष सहुलियत दिइने जानकारी दिए। प्रभावितको विद्यमान ऋण पुनर्संरचना गरी भुक्तानीको म्याद एक वर्षसम्म थप गरिएको उनले बताए।

सरकारको राहत वितरण प्रणाली ‘होल अफ सोसाइटी अप्रोच’ अर्थात् सम्पूर्ण समाजको सहभागितामा आधारित रहेको उनले स्पष्ट पारे। उनका अनुसार सरकार वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) बाट उपलब्ध हुने सहयोगलाई एकरूपताका साथ एउटै मापदण्डभित्र समेट्नुपर्ने व्यवस्था गरिएको छ।

राहत वितरणमा केही ढिलाइ भए पनि प्रभावितसम्म सहयोग पुर्‍याइएको र वितरण प्रक्रियामा पूर्ण पारदर्शिता कायम गरिएको उप्रेतीको दाबी थियो।