काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ बीच सहकार्य भएको छ। यस सहकार्यसँगै बैंकका कर्पोरेट ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) प्रणालीमार्फत विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्ने भएका छन्।
बैंकका अनुसार र्यापिडलाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ। र्यापिड एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले ‘बैंकिङ एज अ सर्भिस’ (BaaS) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकहरूलाई जोड्ने काम गर्छ।
यस प्रविधिको प्रयोगपछि कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, भविष्यमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी तथा कर्मचारीको तलब वितरणजस्ता कार्य एउटै प्लेटफर्मबाट गर्न सक्नेछन्। यसले विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि फरक–फरक प्रणाली प्रयोग गर्नुपर्ने झन्झट हटाउने विश्वास बैंकले लिएको छ।
यसको प्रयोगका लागि तल दिएको लिंक बमोजिम गर्नुपर्ने छ ।
Sign Up Login: https://signup-portal.ctznbank.com/login
ग्राहकहरूले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ सुविधामार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। सेवा प्रयोगका लागि बैंकमा एकपटक मोबाइल बैंकिङजस्तै आवेदन फाराम भर्नुपर्नेछ भने त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ।
र्यापिडले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई समेत डिजिटल बनाएको छ। साथै एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकाले डिजिटल कारोबार सुरक्षित हुने बैंकको दाबी छ।
बैंकका अनुसार यो सहकार्यले कर्पोरेट ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज, छरितो र लागत–प्रभावकारी बनाउनेछ। साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित यो सेवा सञ्चालनमा ल्याइएको हो।
सिटिजन्स बैंक, जसले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको छ, यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।
पछिल्ला वर्षहरूमा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरू विस्तार गर्दै आएको छ। यस क्रममा बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित बचत खाता सञ्चालनमा ल्याइसकेको छ।
हाल बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।








