काठमाडौं।  देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ भने तराईका भागमा आंशिक बदली छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासमेत भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो कोसी प्रदेशका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ADVERTISEMENT

आज राति पनि कोसी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहने तथा केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।