मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो दुई सातामा १ अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
रसुवाको टिमुरेस्थित भन्सार कार्यालय भोटेकोशी नदीको बाढीले बगाएपछि रसुवागढी नाकाबाट हुने आयात चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकातर्फ डाइभर्ट भएपछि मुस्ताङ भन्सारको राजस्व सङ्कलन बढेको हो। पछिल्लो शुक्रबार मात्रै कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार पछिल्लो साता दैनिक करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन भइरहेको छ। बाढीका कारण रसुवागढी नाका बन्द भएपछि हालसम्म ४३४ वटा मालवाहक कन्टेनर जाँचपास भएका छन्। शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन जाँचपास भएका थिए।
कोरला नाकाबाट विद्युतीय सवारीसाधनसहित चीनबाट विभिन्न सामान आयात भइरहे पनि निकासी भने कमजोर रहेको भन्सार कार्यालयले जनाएको छ। चाडपर्व लक्षित सामान आयात हुन थालेसँगै उपल्लो मुस्ताङमा नेपाली व्यवसायीको चहलपहलसमेत बढेको छ।





