काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि वर्षासम्मको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ।
मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, अन्य हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।
महाशाखाले मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको जनाएको छ। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








