काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट हुँदै आएको खाना पकाउने ग्यासको बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
ग्यास अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै कार्यालयले पछिल्लो तीन दिनदेखि सार्वजनिक बिदाका दिन परिसरबाट ग्यास बिक्री गर्दै आएको थियो। विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई बिक्रीमा प्राथमिकता दिइएको थियो।
प्रशासकीय अधिकृत तारानाथ फुल्लेलका अनुसार भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका पहिचान हुन नसकेका शव व्यवस्थापनमा समेत खटिनुपर्ने भएकाले परिसरबाट ग्यास बिक्री स्थगित गरिएको हो।
तर, ग्यासको बिक्री वितरण पूर्ण रूपमा बन्द भने नहुने कार्यालयले स्पष्ट पारेको छ। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री हुने जनाएको छ।





