काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पार्टी नेतृत्वप्रति खनिएका छन् । नेतृत्वको अदूरदर्शीकै कारण पार्टी फुटको डिलमा पुगेपछि उनी आक्रोशित बनेका छन् ।

राप्रपा संसदीय दलका नेता शाहीले शीर्ष नेताहरूको आन्तरिक विवाद र व्यक्तिगत स्वार्थप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा आफ्नो तीव्र आक्रोश पोखेका छन्। नेताहरूमाझ चलिरहेको खिचातानी र जुँगाको लडाइँले आमयुवा तथा कार्यकर्ताहरूमा निराशा पैदा गरेको उनले बताएका छन् ।

ADVERTISEMENT

बुधबार फेसबुकमार्फत उनले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । शाहीले नेताहरूको डिएनए नै मिलेर जाने प्रकृतिको नभएको भन्दै राजनीतिक नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले अहिलेको समय एकअर्कालाई आरोप(प्रत्यारोप गरेर फुट्ने नभई एकजुट भएर अगाडि बढ्नुपर्ने समय भएको उल्लेख गरेका छन्। देशैभरि हार ब्यहोर्दासमेत नेतृत्व छोड्न तयार नहुने र अर्कोतर्फ चुनावै नलडी नेतृत्व हत्याउन खोज्ने प्रवृत्तिप्रति उनले तिखो प्रहार गरेका छन्।

पदका लागि भइरहेको यो हानाथाप र अहंकारले संगठन मात्र नभई कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा समेत टुट्दै गएको शाहीको ठहर छ। ‘एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्, अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्,’ उनले भनेका छन् ।

शाहीले शीर्ष नेताहरूलाई नाटक बन्द गर्न र हिम्मत भए आफूसहित तीनैजना सँगै बसेर खुला छलफल र बहस गर्न चुनौतीसमेत दिएका छन्।