काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं महानगरपालिकाको अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्।
राप्रपा काठमाडौं महानगरको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार अपराह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। अध्यक्ष पदमा रञ्जितको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार सदस्य पदका उम्मेदवारहरू पनि सर्वसम्मत चयन भएका छन्। दीपक रञ्जित प्रहरी सेवामा रहँदा काठमाडौं, ललितपुर र भक्तपुरको प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाएका वरिष्ठ प्रहरी अधिकृत हुन्।
उनी काठमाडौं उपत्यकाको भूगोल र सुरक्षा व्यवस्थासँग परिचित अनुभवी अधिकारीका रूपमा चिनिन्छन्। राप्रपाले निर्वाचन प्रक्रिया सम्पन्न भए पनि नवनिर्वाचित नेतृत्वको घोषणा सभा शनिबार बिहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गर्ने जनाएको छ।
कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यसूची रहेको छ।





