काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको शंकास्पद वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा संलग्न रहेको अभियोगमा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरार रहेका चार प्रतिवादीहरूलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माईक्रो लाईभ ईन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी अर्की सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।

ADVERTISEMENT

सीआईबीका प्रहरि वरिष्ठ उपरीक्षक  अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामध्ये पौडेल धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवै अन्तर्गतको कसुरमा संलग्न थिए। महर्जन धितोपत्र सम्बन्धी ऐन र मालाकार तथा श्रेष्ठ बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानको घेरामा थिए।

ADVERTISEMENT

व्यवसायी दीपक भट्टको विभिन्न कम्पनीहरूमा रहेको शंकास्पद लगानी, शेयर कारोबारमा गरिएका अनिमितता र बीमा क्षेत्रमा भएका गैरकानूनी क्रियाकलापमा यी व्यक्तिहरूको प्रत्यक्ष संलग्नता देखिएको ब्यूरोले जनाएको छ। उनीहरूलाई पक्राउ गरी थप कानूनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको छ।

ADVERTISEMENT

धितोपत्र बोर्ड र बीमा प्राधिकरणले यसअघि नै यी कम्पनीहरू र तिनका पदाधिकारीहरूमाथि वित्तीय अपचलन र ऐनविपरीतका कार्यमा संलग्न रहेको भन्दै विस्तृत छानबिनका लागि सिफारिस गरेका थिए। पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि फरार रहँदै आएका थिए।