काठमाडौं  – श्रावण शुक्ल द्वादशी पारेर चाँगुनारायणको कलश हनुमानढोका ल्याइएको छ।

चाँगुनारायणबाट शुरु भएको कलश यात्रा मूलपानी, बौद्ध, चाबहिल, नक्साल, कमलादी र रानीपोखरी हुँदै हनुमानढोका दरबारसम्म पुगेको हो। यात्रामा चाँगुनारायण, लक्ष्मी र सरस्वतीका कलश ल्याउने परम्परा छ।

चाँगुनारायणको कलश चाँगुनारायण मन्दिरका मूल पुजारी राजोपाध्याय ब्राह्मणले तथा लक्ष्मी र सरस्वतीका कलश भडेलले बोकेर ल्याउने परम्परा रहेको छ।

ADVERTISEMENT

हनुमानढोका पुगेपछि कलशलाई तलेजुका राजोपाध्याय पुजारीले विधिपूर्वक पूजा गरी ‘लसकुस’ अर्थात् सांस्कृतिक परम्पराअनुसार स्वागत गरेका थिए। सो अवसरमा कुमारी माजुको समेत उपस्थिति रहेको थियो।

ADVERTISEMENT

हनुमानढोकाभित्र निर्धारित विधिअनुसार पूजा सम्पन्न गरेपछि कलशलाई राष्ट्रप्रमुखसमक्ष लैजाने र राष्ट्रप्रमुखले दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

ADVERTISEMENT

कलश यात्रा शुरु गर्नुअघि चाँगुनारायण मन्दिरमा विशेष पूजा गरी कर्कलोको भोग चढाउने प्रचलन छ। किंवदन्तीअनुसार लिच्छवी राजा पुष्पदेवको पालामा अनिकाल र महामारीका कारण देशमा संकट उत्पन्न भएपछि राजालाई सपनामा चाँगुनारायणको पूजा गरी कर्कलोको भोग चढाउन आदेश प्राप्त भएको थियो। त्यसपछि कर्कलोको भोग चढाउने र चाँगुनारायणको कलश यात्रा गर्ने परम्परा शुरु भएको मानिन्छ।

चाँगुनारायणको कलश यात्रा वर्षमा दुईपटक हुन्छ। जनैपूर्णिमाअघि साउन शुक्ल द्वादशीका दिन र पौष पूर्णिमाका दिन चाँगुनारायणको कलश हनुमानढोका ल्याउने परम्परा छ।