काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक मतभेद तीव्र बनेको छ। महामन्त्री धवलशमशेर राणा पक्षले पार्टी नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ महाधिवेशनमार्फत ताजा जनादेश लिनुपर्ने माग अघि सारेको छ।
आइतबार काठमाडौंमा आयोजित राणा पक्षधर नेताहरूको भेलाले वर्तमान कार्यसमितिको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो। उनीहरूले पार्टी अहिले गम्भीर मोडमा पुगेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन नै समस्याको समाधान हुने बताएका छन्।
असन्तुष्ट पक्षले पार्टीको नियमित कार्यकाल सकिएको र अहिले अतिरिक्त अवधिमा रहेकाले छिटो महाधिवेशनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ। साथै, पछिल्लो निर्वाचनमा आएको कमजोर नतिजाको नैतिक जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले लिनुपर्ने उनीहरूको भनाइ छ।
नेतृत्वले चुनावी प्रतिबद्धताअनुसार नतिजा दिन नसकेको र पराजयपछि समीक्षा गर्नभन्दा जिम्मेवारीबाट पन्छिएको आरोप समेत उनीहरूले लगाएका छन्। त्यस्तै, उपसभामुख निर्वाचनमा पार्टीले उम्मेदवारी दिएको निर्णयसमेत विवादित बनेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई प्रक्रियाविपरीत निर्णय भएको दाबी गरेको छ।
पार्टीभित्र कार्यकर्ता असन्तुष्टि बढ्दै गएको र केहीले पार्टी छाड्ने क्रमसमेत बढेको भन्दै उनीहरूले अनुशासन विपरीतका गतिविधिको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्ने माग राखेका छन्।
उता, संस्थापन पक्षले भने विवाद समाधान र समग्र समीक्षा गर्न आगामी वैशाख १६ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त बैठकमा पार्टीको भावी रणनीति, महाधिवेशन र आन्तरिक विषयमा छलफल गरिनेछ।







