हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् ।

उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ ।

थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् ।

ADVERTISEMENT

राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन् ।

ADVERTISEMENT

सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो । सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ ।

ADVERTISEMENT

उनीहरू चार जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेश सभा सचिवालयलाई पत्राचारसमेत गरेको थियो । राप्रपाका १२ जना सांसदमध्ये ७ जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहेका छन् ।

राप्रपाका बाँकी ५ सदस्य बैठकमै उपस्थित भएनन् । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ ।

सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट परेको र रिट उपर सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

साथै, रिट निवेदक पक्ष र सरकार पक्षलाई अलालतले १० भदौमा छलफलका लागि बोलाएको छ । सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो ।

कांग्रेसका प्रमुख सचेतक महर्जनले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफना ३६ जना सांसदलाई ह्वीप जारी गरेका थिए ।

यसैगरी, विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ ।

१०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । थापाले सोमबार नै विश्वासको मत लिन खोजेका थिए । सत्तारूढ दल नेकपाभित्र विवादका कारण आज जना सांसद असन्तुष्टि बन्दै प्रदेशसभामा उपस्थित नभएको र कांग्रेसले बैठक नराख्न माग गरेपछि आजलाई बैठक सारिएको थियो ।

मुख्यमन्त्री थापा गत ४ भदौमा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले विश्वासको मत पाएसँगै तत्कालका लागि सरकारमाथि देखिएको संवैधानिक संकट टरेको छ ।

तर, राप्रपाभित्र जारी विवादले थापामगर नेतृत्वको सरकारको आगामी यात्रा कति सहज हुन्छ भन्ने प्रश्न भने कायमै छ ।