काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र सक्रिय कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्।
राप्रपा काठमाडौँ महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको विषयलाई लिएर कार्यकर्ताहरू विचलित हुन आवश्यक नरहेको बताए।
पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्य सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्तरसंघर्ष वा विगतका मतभेदका कारण कोही पनि त्रसित हुनुपर्ने अवस्था नरहेको बताए। ‘अन्तरसङ्घर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु पर्दैन, म सबैको अभिभावक बनेर काम गर्छु,’ लिङ्देनले भने।
तर उनले जिम्मेवारी लिएर काम नगर्ने तथा संकटको समयमा पछि हट्नेहरूलाई पार्टीमा स्थान नदिइने स्पष्ट पारे। पद ओगटेर मात्र बस्ने र कठिन परिस्थितिमा पार्टीको साथ छाड्नेहरूलाई आफूले हटाउने चेतावनीसमेत उनले दिए।
‘राजनीतिमा लागेर देशको सेवा गर्न चाहनेले अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन। काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ,’ लिङ्देनले भने, ‘पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई आफैँले धकेलेर बिदा गरिदिन्छु।’
लिङ्देनले कार्यकर्ताहरूलाई सबैभन्दा पहिले आफ्नै परिवारका सदस्यलाई राप्रपामा आबद्ध गराउन पनि आग्रह गरे। आफ्नै परिवारबाट विश्वास हासिल गर्न नसक्ने व्यक्तिलाई समाजले पनि सहज रूपमा विश्वास नगर्ने उनको तर्क थियो।
‘आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने। राप्रपाको संगठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान सञ्चालन भइरहेको जानकारी दिँदै लिङ्देनले कार्यकर्तालाई अभियानमा केन्द्रित हुन निर्देशन दिए।
उनले नातागोता, छरछिमेक हुँदै योजनाबद्ध रूपमा संगठन विस्तार गर्न आग्रह गरे। आगामी दिनमा राप्रपामा जनलहर आउने दाबी गर्दै उनले इमानदार भएर वडादेखि संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे।
लिङ्देनले पार्टीको जिम्मेवारी बहन गर्दै आगामी राजनीतिक चुनौती सामना गर्न तयार हुन कार्यकर्तालाई हौसला दिएका छन्।





