काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।

चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान उनले सार्वजनिक गरेका छन्।
यस्तै, कुल गाहर्स्थ उत्पादनमा कृषि क्षेत्र र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढी योगदान रहने अनुमान गरिएको छ।

ADVERTISEMENT

प्रदेशगत रुपमा तुलना गर्दा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ।

सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अर्थमन्त्रीले उल्लेख गरे।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेका अनुसार नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने देखिएको छ ।

फागुनसम्म चार हजार १०५ मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको बताउँदै उनले ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरे ।

सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित अवस्थामा रहेको सर्वेक्षणमा उल्लेख छ । चालू आर्थिक वर्षको फागुनसम्म संघीय खर्च १०.४ प्रतिशत र संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ। यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोड र प्राथमिक सन्तुलन ९ अर्ब ३९ करोडले घाटामा छ।

अर्थमन्त्री वाग्लेले सर्वेक्षण पेश गर्दै देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताएका छन् । उनका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब नाघेको छ । यस्तै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको संकेत गर्छ । मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ ।

मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ । मानव विकास सूचकांक ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ । शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वोक्षणमा उल्लेख गरिएको छ ।