काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनमा देखिएको सुस्तता र चुहावट नियन्त्रण गर्न भन्सार तथा राजस्व प्रशासनलाई कडा निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन आग्रह गरे। राजस्व संकलनको लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट रहेकाले अधिकारीहरूले अर्जुनदृष्टिका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए।

ADVERTISEMENT

नेपालमा विगतदेखि नै राजस्व संकलनमा लय बिग्रिएको र चुहावटको गुनासो बढ्दै आएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब यस्तो अवस्था सह्य नहुने चेतावनी दिए। उनले करदातामाथि अनावश्यक दबाब सिर्जना गरेर होइन, उनीहरूलाई प्रोत्साहित गर्दै करको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

ADVERTISEMENT

कर संकलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक बनाउनुपर्ने बताउँदै उनले कर प्रशासकहरूलाई ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए। उनले इमानदारीपूर्वक काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दण्डको व्यवस्था हुने स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले राजस्व लक्ष्य हासिल गर्न आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए। नागरिकमा कर सचेतना बढाउने, सरकारले घोषणा गरेको कर छुट योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा करदाता प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए।

ADVERTISEMENT

राजस्व छली रोक्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले भन्सार विभागलाई तीन महिनाभित्र देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर जडान गर्न निर्देशन दिए। यसअघि बिग्रिएर प्रयोगविहीन भएका स्क्यानर मर्मत गरी सञ्चालनमा ल्याउन पनि उनले सम्बन्धित कार्यालयलाई आग्रह गरे।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले कर तथा राजस्वमा आएको गिरावटका कारण पहिचान गरी सुधार गर्न मातहतका अधिकारीलाई निर्देशन दिए। कार्यक्रममा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले राजस्व संकलनको अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुति दिएका थिए।