काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता क्रमशः घट्दै गएको र सहुलियतपूर्ण ऋणको स्रोतसमेत साँघुरिँदै गएको बताएका छन्। परम्परागत वैदेशिक स्रोत कमजोर बन्दै गएपछि नेपालले विकासका लागि निजी पूँजी परिचालनमा जोड दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको सुरुवाती बजेटदेखि नै राजस्वले नपुग्ने खर्च वैदेशिक सहायता र ऋणबाट पूर्ति हुँदै आएको बताए। तर अर्थतन्त्र तथा बजेटको आकार बढ्दै जाँदा कुल बजेटमा वैदेशिक अनुदानको हिस्सा भने घट्दै गएको उनले उल्लेख गरे।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा करिब २ खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक ऋण र करिब ६२ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यद्यपि पछिल्ला वर्षमा बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँसम्म अनुदान अनुमान गरिए पनि वास्तविक प्राप्ति भने करिब १० देखि १५ अर्ब रुपैयाँमा सीमित हुने गरेको उनले बताए।
अर्थमन्त्री वाग्लेले विगतमा १ देखि १.५ प्रतिशत ब्याजदरमा लामो अवधिका लागि तथा सुरुका केही वर्ष ऋण तिर्न नपर्ने खालका सहुलियतपूर्ण ऋण उपलब्ध हुने गरेको भए पनि त्यस्तो सुविधा क्रमशः बन्द हुँदै गएको बताए।
‘अब परम्परागत स्रोतहरू सुक्दैछन्, वैदेशिक सहायताका, त्यसैले अब नयाँ निजी पूँजीतिर जाँदैछौँ,’ उनले भने, नेपालका महत्वपूर्ण पूर्वाधार निर्माणमा वैदेशिक सहुलियतपूर्ण ऋणको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वाग्लेले आगामी दिनमा त्यस्ता स्रोत प्राप्त गर्न थप चुनौती हुने बताए।
उनका अनुसार अब सहुलियतपूर्ण ऋणमा ब्याजदर बढ्ने, ग्रेस पिरियड र म्याचुरिटी अवधि घट्ने अवस्था देखिएको छ। सीमित स्रोतका लागि विकासशील मुलुकबीच प्रतिस्पर्धासमेत बढ्दै गएकाले नेपालका लागि आगामी समय चुनौतीपूर्ण हुने उनको भनाइ छ।
वैदेशिक सहायतालाई गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, द्विपक्षीय अनुदान र बहुपक्षीय सहुलियतपूर्ण ऋणका रूपमा छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने उनले बताए। आईएनजीओमार्फत आउने सहायता पनि घट्दै गएको र नेपालको बढ्दो बजेट तथा अर्थतन्त्रको आकारको तुलनामा त्यसको हिस्सा निकै सानो भइसकेको उनको भनाइ छ।
ठूला पूर्वाधार तथा संस्थागत सुधारका लागि बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण अझै महत्वपूर्ण स्रोत भए पनि आगामी दिनमा त्यसको उपलब्धता र सर्त दुवै चुनौतीपूर्ण बन्दै जाने अर्थमन्त्री वाग्लेले बताए।





