काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब केवल आक्रोश र विद्रोहको राजनीतिक शक्ति नभई आशा, विकल्प र निर्माणको शक्ति बन्नुपर्ने बताएका छन् ।
पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै उनले रास्वपाले आन्दोलनको चरण पार गरेर संस्थागत राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए ।
वाग्लेले रास्वपा कुनै राजनीतिक विभाजन, सत्ता सम्झौता वा अवसरवादी गठबन्धनबाट जन्मिएको दल नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए ।
‘जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापनजस्तो देखिन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो,’ उनले भने, ‘त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।’
अर्थमन्त्रीसमेत रहेका वाग्लेले विगतका राजनीतिक आन्दोलनले लोकतन्त्र, संविधान र समावेशी राज्य व्यवस्थाको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षित रूपमा विकास हुन नसकेको टिप्पणी गरे । उनले निर्वाचनहरू नियमित भए पनि उत्तरदायित्व कमजोर रहेको, संविधान बने पनि संस्थाहरू बलियो बन्न नसकेको, राज्यको आकार बढे पनि क्षमता नबढेको तथा अधिकार विस्तार भए पनि सार्वजनिक सेवाको गुणस्तर सुधार हुन नसकेको बताए ।
‘नेपालको समस्या स्रोतको अभाव होइन, सम्भावनाको अभाव पनि होइन,’ उनले भने, ‘हाम्रो मुख्य समस्या गलत प्रोत्साहन संरचना हो, जहाँ इमानदार मानिसलाई राजनीतिमा प्रवेश गर्न कठिन छ तर पहुँचवालालाई सफल हुन सजिलो छ ।’
उपसभापति वाग्लेले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए । उनले राजनीति भागबण्डा र पहुँचको संरक्षणबाट मुक्त भई विधि, विवेक र मेरिटोक्रेसीमा आधारित हुनुपर्ने धारणा राखे ।
रास्वपाले आलोचनामात्र होइन, व्यावहारिक विकल्प दिनुपर्ने र विद्रोहमात्र होइन, निर्माणको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
महाधिवेशनलाई रास्वपाको संस्थागत रूपान्तरणको अवसरका रूपमा व्याख्या गर्दै वाग्लेले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने होइन, उत्तर दिन सक्ने क्षमता पनि प्रमाणित गर्नुपर्ने बताए ।
वाग्लेले महाधिवेशनको मूल प्रश्न रास्वपाले नेपालको भविष्य कस्तो देख्छ भन्ने रहेको उल्लेख गर्दै उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना प्रस्तुत गरे । वाग्लेले युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए। नेपालमै श्रम, सीप, ज्ञान र सिर्जनशीलतालाई सम्मान र अवसर प्राप्त हुने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
‘आउनुहोस्, निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ र विद्रोहलाई रूपान्तरणमा बदलौँ,’ उनले भने, नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्राको प्रारम्भ यही महाधिवेशनबाट गरौँ ।’






