काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । वाग्लेका साथमा कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल र पूर्वराजदूत विजयकान्त लाल कर्ण पनि छन् ।
वाग्लेलाई केही दिनअघि रास्वपा सभापति रवि लामिछानेले भावी अर्थमन्त्रीका रूपमा प्रचार गरेका थिए । नेपाली टोली नयाँ दिल्लीमा आयोजना हुने ‘जेनजी आन्दोलनपछि नेपाल–भारतको सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बुझिएको छ ।
सोमबार मात्रै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीबाट फर्केका थिए । पार्टीनिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्न त्यहाँ गएका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि गोप्य वार्ता गरेका थिए ।
अहिले पनि कांग्रेस नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा नयाँ दिल्लीमै छिन् । आरजु राणा उपचारका लागि गएको भनिएको छ । उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ ।
गत साता मात्र पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षण डा. बाबुराम भट्टराई दिल्ली गएका थिए । त्यहाँ राजनीतिक भेटघाट गरेर फर्किएका उनले रास्वपा र काठमाडौंका मेयर बालेन्द्र साह बालेनलाई मिलाउन भूमिका खेले । दिल्लीबाट फर्किएको भोलिपल्टै बाबुराम बालेनलाई भेट्न ज्वागल पुगेका थिए ।




