काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

चीनको ग्वाङ्झाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताएका हुन्।

ADVERTISEMENT

उनले सरकारले देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको बताए। विशेषगरी कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने रणनीति कार्यान्वयनमा रहेको भन्दै उनले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे।

ADVERTISEMENT

मन्त्री वाग्लेले नेपालका पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानीका लागि प्रवासी नेपालीलाई आह्वान गरे।

‘अब नेपाल आएर ढुक्कसँग लगानी गर्नुहोस्’ भन्दै उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि तीव्र गतिमा काम गरिरहेको दाबी गरे।

ADVERTISEMENT

उनका अनुसार सरकारले चालु बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीको वातावरण सुधार गर्ने प्रयास गरेको छ। देशमा सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको पनि उनले बताए।

अर्थमन्त्री वाग्लेले सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको जानकारी दिए। बजेटमार्फत आर्थिक व्यवस्थापनको दिशामै परिवर्तन गर्न खोजिएको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको सुरुआत मात्र भएको बताए।

सरकारले आर्थिक क्षेत्रमा सुधारका लागि वातावरण तयार पार्दै गएको दाबी गर्दै मन्त्री वाग्लेले प्रवासी नेपालीको लगानीले देशभित्र रोजगारी र उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।