म्याग्दी। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत म्याग्दी, मुस्ताङ र पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब रु १२ करोड लागतका १७ वटा योजना कार्यान्वयनमा ल्याइएको छ ।

आयोजना कार्यालयका अनुसार पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० वटा योजना निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ बराबरको ठेक्का सम्झौता गरिएको छ ।

ADVERTISEMENT

कार्यालयका इन्जिनियर नरजङ्ग गुरुङ ले माघ, फागुन र चैत महिनामा सम्झौता भएका सबै योजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको बताए ।

ADVERTISEMENT

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पहिरो नियन्त्रण योजनाका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ विनियोजन गरिएको छ । त्यस्तै, बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि रु ९९ लाख १९ हजार २९५ को ठेक्का सम्झौता भएको छ ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाका लागि रु ८७ लाख ४४ हजार ९८२ तथा अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजनाका लागि रु एक करोड नौ लाख १६ हजार ७६० बराबरको सम्झौता गरिएको छ ।

ADVERTISEMENT

मुस्ताङमा कागबेनी बस्ती संरक्षण योजनाका लागि रु एक करोड ९१ लाख ४३ हजार ६९९, लार्जुङखोला संरक्षणका लागि रु ७८ लाख ४४ हजार ९८२ तथा लुप्रा गाउँ संरक्षण योजनाका लागि रु २६ लाख ८२ हजार ४५ विनियोजन गरिएको छ ।

त्यसैगरी पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउ निर्माणका लागि रु ३२ लाख ३५ हजार ९३९, कुश्मा नगरपालिका–१० मा सिँचाइ योजनाका लागि रु १५ लाख ५२ हजार ५७५ र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाका लागि रु ९१ लाख ७८ हजार ९२० मा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।