म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सडक यातायात पुगेपछि स्थानीय बासिन्दाको दैनिकीमा ठूलो परिवर्तन आएको छ। वर्षौंसम्म पैदलमार्ग र दुर्गम भूगोलको कठिनाइ भोग्दै आएका गुर्जावासी अहिले केही घण्टामै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न सक्ने भएका छन्।
प्रशासनिक कामका लागि बेनी आएकी स्थानीय डेकमाया छन्त्याल पाँच घण्टामै घर फर्किन सफल भइन्। उनका अनुसार यसअघि गाउँपालिकाको केन्द्र मुना पुग्न मात्रै करिब नौ घण्टा पैदल हिँड्नुपर्थ्यो भने त्यहाँबाट बेनीसम्म थप तीन घण्टा गाडी यात्रा गर्नुपर्ने अवस्था थियो। अहिले बिहान बेनीबाट गाडी चढेर केही घण्टामै घर पुग्न सकिने भएपछि स्थानीयको जीवन सहज बनेको छ।
गुर्जादेखि लुलाङ हुँदै मुना पुग्ने पुरानो पैदलमार्ग भिर, जंगल र खोल्साले भरिएको जोखिमपूर्ण थियो। सडक सञ्जाल विस्तार भएसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको उपचार र आवतजावतमा सहजता आएको स्थानीय बताउँछन्।
अल्पसंख्यक छन्त्याल र दलित समुदायका २६५ घरधुरी बसोबास रहेको गुर्जाको जनसंख्या एक हजार ५०५ रहेको छ। वडासदस्य गुनराम छन्त्यालका अनुसार सडक नहुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर बोलाउनुपर्ने वा मानिसले बोकेर लुलाङसम्म पुर्याउनुपर्ने अवस्था थियो। अहिले भने सवारीसाधनमार्फत बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिने भएको छ। खाद्यान्न तथा निर्माण सामग्री ढुवानी पनि सस्तो र सहज बनेको उनले बताए।
पर्यटनमा बढ्दो आकर्षण
लुलाङ–गुर्जा सडक सञ्चालनमा आएपछि पछिल्लो समय जिप, ट्र्याक्टर र मोटरसाइकल नियमित सञ्चालन हुन थालेका छन्। सडक पुगेपछि पर्यटकको आगमनसमेत बढेको स्थानीय बताउँछन्।
स्थानीय गुनप्रसाद विश्वकर्माका अनुसार गाडी सञ्चालन भएसँगै कृषि उत्पादन, पशुजन्य वस्तु तथा जडीबुटीको बजारीकरणमा सहजता आएको छ। साथै, गाउँमा बाहिरी मानिसको चहलपहल बढ्दै गएको छ।
म्याग्दी, पोखरा, काठमाडौंलगायत विभिन्न स्थानबाट गुर्जा घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ। “लुकेको बस्ती” भनेर चिनिने गुर्जामा छन्त्याल संस्कृति, हिमाली दृश्य, वनस्पति, जडीबुटी, पशुगोठ तथा वन्यजन्तु अवलोकन गर्न सकिन्छ।
म्याग्दीका सबै वडा सडक सञ्जालमा
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा निर्माण भइरहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकतामा परेको योजना हो।
उनका अनुसार चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा रोकिएको सडकलाई विस्तार गर्दै खोरिया, लमसुङ र लुलाङ हुँदै गुर्जासम्म यातायात सुविधा पुर्याइएको हो। यससँगै म्याग्दी जिल्लाका सबै ४५ वटै वडा सडक सञ्जालमा जोडिएका छन्।
लुलाङदेखि गुर्जासम्म करिब २२ किलोमिटर सडक विस्तार गरिएको छ। आर्थिक वर्ष २०७९/०८० बाट सडक निर्माण सुरु भएको थियो। चालु आर्थिक वर्षमा मात्रै एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सडक स्तरोन्नतिको आवश्यकता
यातायात व्यवसायी लुकेश रसाइलीका अनुसार देउराली र लत्रवाङ क्षेत्रमा सडक अझै जोखिमपूर्ण रहेको छ। तीन हजार मिटर उचाइमा रहेको क्षेत्रमा साँघुरा घुम्ती, हिलो र चिप्लोपनका कारण सवारी सञ्चालनमा समस्या हुने गरेको उनले बताए।
बर्खायाममा खोलाले सडक कटान गर्ने समस्या पनि रहेको छ। गुर्जा नजिकको कम्जाखोलामा मोटरेबल पुल निर्माण आवश्यक रहेको स्थानीयको माग छ। हाल खोलाबाटै सवारीसाधन सञ्चालन हुँदै आएको छ।
धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार प्रदेश सरकारले पठाएको ५० लाख रुपैयाँ बजेटबाट सडक मर्मत, सुधार र स्तरोन्नतिको काम गरिनेछ। साथै, दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण कार्यसमेत सुरु भएको छ।
गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी मार्गको प्रस्ताव
गुर्जा वडाध्यक्ष झक छन्त्यालले गुर्जा हुँदै कर्णाली प्रदेशको डोल्पासम्म उच्च पहाडी राजमार्ग निर्माण गर्न सकिए हिमाली जिल्लाका बासिन्दाका लागि काठमाडौं पुग्ने छोटो मार्ग बन्ने बताए।
उनका अनुसार पुरानो भोट व्यापार मार्गलाई आधुनिक सडकमा रूपान्तरण गर्न सके डोल्पा, मुगु र जुम्लाका नागरिकलाई ठूलो लाभ पुग्नेछ। यस प्रस्तावलाई संघीय र प्रदेश सरकारसमक्ष प्रस्तुत गरिएको उनले जानकारी दिए।








