काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीहरू हेरफेर गरेका छन् । यसअघिका मन्त्री हटाएर उनले आठजना नयाँ नियुक्त गरेका छन् । गण्डकी सरकारका नवनियुक्त आठ मन्त्रीले बुधबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ लिएका छन् ।
नवगठित मन्त्रिपरिषद्मा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, जितबहादुर शेरचन आर्थिक मामिला, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
मन्त्री बन्न नपाएपछि गण्डकीका कांग्रेस सांसद द्रोणकुमार कुँवरले पद त्यागेका छन् । आज प्रदेश सभा सभामुखलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । कुँवर ०७९ मंसिर ४ गते सम्पन्न आम चुनावमा बागलुङ २ (२) बाट निर्वाचित भएका थिए । उनले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।
राजीनामा पत्रमा कारण नखुलाए पनि मन्त्री बन्न नपाएपछि उनले यस्तो कदम चालेको बताइएको छ । मुख्यमन्त्री पाण्डेले आज क्याबिनेट पुनर्गठन गर्दा मन्त्रीका आकांक्षी कुँवर समेटिएनन् । सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने कुँवरको प्रतिबद्धता छ ।









