काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ।
त्यसैगरी कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान, बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्ले वर्षा र चट्याङका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।








