काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ।

यसको प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै अत्यधिक गर्मीबाट सतर्क रहन आग्रह गरेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।