काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरेको छ । त्यसका लागि अहिले आन्तरिक छलफल चलिरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

फागुन ६ गते जनकपुरको तिरहुतिया गाछीमा सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए ।

सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए । बाँकी पाँच प्रदेशका कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुंगो लगाइने भएको छ ।

अहिले कांग्रेस उपसभापति शर्मा कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी सभा र भेलामा सहभागी भइरहेका छन् । उनी फर्केलगत्तै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय चुनावी सभाको स्थान र मितिबारे टुंगो लाग्ने भएको छ । कांग्रेस सभापति थापा अहिले सर्लाही ४ मा मतदाता घरदैलो अभियानमा छन् । एक दुई दिनपछि उनी निर्वाचन क्षेत्रबाट फर्किने कार्यक्रम छ ।