काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक तनाव समाधान गर्ने उद्देश्यले विशेष महाधिवेशन पक्ष र संस्थापन समूहबीच बालुवाटारमा छलफल जारी छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको विशेष समूहले संस्थापन पक्षका नेताहरूसँग संवाद गरिरहेको हो।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। संस्थापनतर्फ सभापति शेरबहादुर देउवा निकट नेताहरू रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा उपस्थित छन्।
विशेष समूहले सभापति देउवासहित संस्थापन पक्षलाई औपचारिक रूपमा छलफलका लागि आह्वान गरे पनि उनीहरू भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। सभापति देउवाले यस महाधिवेशनलाई औपचारिक मान्यता नदिने सन्देश आफू निकट नेताहरूमार्फत् दिइरहेको बताइएको छ।
कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्वमा परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक गर्दै आएका छन्। विशेष समूहले संस्थापन पक्षले आफ्ना माग बेवास्ता गरेमा विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिएको छ।
बालुवाटारमा जारी यस संवादपछि विशेष महाधिवेशनको आगामी कार्यदिशाको निर्णायक भुमिका तय गर्नेछ।