काठमाडौं । नेपाली कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याउने भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्न कांग्रेस संसदीय बोर्डको बैठक बस्दैछ ।
काठमाडौंस्थित होटल ताजमा बैठक बस्ने भएको छ । सर्वसम्मत ढंगले टिकट टुंग्याउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सघन वार्तामा छन् । असन्तुष्ट पक्षबाट रमेश लेखक र डा. मीनेन्द्र रिजाल सूचीसहित संवादमा बसेका छन् । आइतबार मध्यरातिसम्म वार्ता चलेको थियो । सभापति थापाको हस्ताक्षरमा टिकट लिएपछि सर्वोच्चमा दर्ता भएको मुद्दा फिर्ता गर्नुपर्ने अडानमा संस्थापन समूह छ ।
फागुन २१ गते हुने निर्वाचनका माघ ६ गते मनोनयन गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । समयको चापलाई मध्यनजर गर्दै पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच अहिले महाराजगन्जमा छलफल भइरहेको छ । कांग्रेस सभापति थापा र उपसभापति शर्मा देउवा र कोइरालासँग छलफल गरेर उम्मेदवार फाइनल गर्ने तयारीमा छन् ।
संसदीय बोर्डको बैठकअघि देउवा र कोइरालालाई भेट्ने थापा र शर्माको तयारी छ । धेरै नाम फाइनल भइसकेको तर केहीमा छलफल गर्नुपर्ने नेताहरुको भनाइ छ ।






