काठमाडौं । सर्वोच्च अदालतले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार उक्त आदेश दिएको हो।

उक्त क्षेत्रमा अनियन्त्रित डम्पिङ साइटका कारण दुर्गन्ध र प्रदूषण फैलिएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले चैत १६ गते रिट दायर गरेका थिए। उनीहरूले प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाएका थिए।

यसअघि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरिएको थियो। पछि भएको छलफलपछि सर्वोच्चले अन्ततः फोहोर नफाल्न र साइट सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो।

निवेदकहरूले अन्तिम निर्णय नहुँदासम्म फोहोर व्यवस्थापन रोक्न, वैकल्पिक स्थान खोज्न र प्रदूषण नियन्त्रण गर्न पनि माग गरेका थिए।