काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने स्पष्ट सङ्कल्पसहित अघि बढिरहेको बताएका छन्। पार्टीभित्रको सुधार, सुशासन र सामाजिक न्यायमार्फत राष्ट्रिय परिवर्तन सम्भव हुने उनको भनाइ छ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै सभापति थापाले देश बदल्न कांग्रेस आफैँ बदलिनु आवश्यक रहेको बताए। समयअनुसार कांग्रेस नयाँ सोच, नयाँ काम र नयाँ सङ्कल्पका साथ अघि बढेको उल्लेख गर्दै उनले पार्टीभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको बताए।

अबको दिनमा निर्वाचन टिकट लिन नेताको घर धाउने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गर्दै सभापति थापाले कार्यकर्तालाई निर्णायक बनाइने बताए। उनले लोकतन्त्र र सामाजिक न्यायका सवालमा कांग्रेसले कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट पारे।
सभापति थापाले आम नागरिकको प्रमुख चाहना सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भएको उल्लेख गर्दै बदलिएको कांग्रेसले जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। विशेष महाधिवेशनमार्फत पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य भएको उनको दाबी थियो।
युवाको आवाजलाई कांग्रेसले गम्भीर रूपमा सुनेर अघि बढेको बताउँदै सभापति थापाले कांग्रेससँग सुधारको स्पष्ट एजेण्डा र सबैलाई एकतामा बाँध्ने क्षमता रहेको बताए। साथै, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न पार्टी लाग्ने उनले स्पष्ट पारे।
आफ्नो राजनीतिक यात्रामा काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताको भूमिकाको उच्च सम्मान गर्दै सभापति थापाले उनीहरूको सहयोगकै कारण आफू तीन पटक निर्वाचित भएको बताए।

“मलाई तपाईँहरूले लगाएको गुन जीवनभर तिर्न सक्दिन। दुःखको बेलाका साथी र अभिभावक तपाईँहरू नै हुनुहुन्छ,” उनले भने, पार्टीगत भिन्नता हुँदाहुँदै पनि आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै।
सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्ने र मधेसका मुद्दा बुझ्ने उद्देश्यले आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको पनि बताए।
यसै अवसरमा काठमाडौँ क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाले क्षेत्रको समग्र विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाए। जेन–जी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्दै उनले विजयका लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे।







