काठमाडौं । बिगतका दिनहरुमा वित्तीय पहुँच विस्तार र व्यवसायको आकार बृद्धिको लागि भन्दै आक्रामकरुपमा शाखा बिस्तार गरेका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय शाखा संख्या घटाउँदै गएकाछन् । दिन प्रतिदिन बढ्दै गएको व्यवस्थापन खर्च, सो अनुसार बैंकिङ क्षेत्रमा व्यवसायको आकार नबढ्नु र कतिपय शाखाहरु घाटामा सञ्चालन हुनुले पनि बैंकिङ क्षेत्रले पछिल्लो समय शाखा संख्या घटाउने रणनीति लिएको हो ।
बिगतमा राष्ट्र बैंकले नै शहरी अर्थात सुगम क्षेत्र बाहेकका क्षेत्रहरुमा शाखा खोल्न प्रोत्साहन दिने गरेको थियो, सो अनुसार त्यस्ता धेरै क्षेत्रहरुमा शाखा पनि खोलियो, तर व्यवसायको आकार, सुरक्षा चुनौंती आदिका कारण पछिल्लो समय त्यस्ता शाखाहरु बन्द गर्नुपरेको हो, नाम उल्लेख नर्गने सर्तमा एक बैंकर भन्छन । यसबाहेक राष्ट्र बैंकले बिगतमा मर्जर तथा प्राप्ती प्रकृयालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएकाकारण पनि बैंकिङ क्षेत्रमा शाखा संख्या घटेको ति बैंकरको भनाई छ । मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भई एकीकृत कारोबार सुरु गर्दा त्यस्ता संस्थाहरुको एकै स्थानमा रहेका धेरै शाखाहरु समेत मर्जर हुँदा शाखा संख्या घटेको ति बैंकर बताउँछन ।
त्यसो नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पनि बैंकिङ क्षेत्रमा कुल शाखा संख्या घट्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार २०८१ र २०८२ असार मसान्तसम्ममा नेपाली बैंकिङ क्षेत्रमा २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक, १७ वटा फाईनान्स कम्पनी, ५२ वटा लघुवित्त वित्तीय संस्था र एउटा पुर्वाधार बिकास बैंक सहित कुल एक सय सात वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका थिए । २०८२ फागुन मसान्तसम्ममा आईपुग्दा यस्तो संख्या एक सय छ वटामा सिमित रह्यो । शाखातर्फ पनि २०८१ असार मसान्तसम्ममा बाँणिज्य बैंकहरुको पाँच हजार ५६, बिकास बैंकहरुको एक हजार एक सय ३५, फाईनान्स कम्पनीहरुको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार ५१ वटा गरी कुल ११ हजार पाँच सय ३० वटा शाखाहरु सञ्चालनमा रहेका थिए । २०८२ असार मसान्तसम्म आईपुग्दा यस्तो संख्या घटेर ११ हजार पाँच सय २६ वटामा सिमित रह्यो । जसमध्ये बाँणिज्य बैंकहरुको पाँच हजार ९९, बिकास बैंकहरुको ११ सय ३२, फाईनान्स कम्पनीहरुको दुई सय ९१ र लघुवित्त संस्थाहरुको पाँच हजार चार वटा शाखाहरु सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो अवधिमा बैंकिङ क्षेत्रको कुल शाखा संख्या ११ हजार चार सय ६५ वटामा खुम्चिएको छ । जसमध्ये बाँणिज्य बैंकहरुको पाँच हजार ६८, बिकास बैंकहरुको एक हजार एक सय २३, फाईनान्स कम्पनीहरुको दुई सय ९२ र लघुवित्त वित्तीय संस्ताहरुको चार हजार नौं सय ८२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकको यही तथ्यांकले पछिल्लो समय बैंकिङ क्षेत्रको कुल शाखा संख्या घट्दै गएको देखिन्छ ।
बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या
(श्रोतः नेपाल राष्ट्र बैंक)
यसैबिच नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपाने बैंकिङ क्षेत्रमा शाखा संख्या घट्दै जानुको मुल कारण पछिल्लो समय डिजिटल्ली कारोबार बढ्दै जानु प्रमुख रहेको बताउँछन । पहिला बैंकिङ क्षेत्रमा फिजिकल्ली कारोबार बढी हुन्थ्यो, अहिले डिजिटल्ली कारोबार बढी हुन्छ । अर्कोतर्फ मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भई एकीकृत कारोबार सुरु गरेकाले पनि बैंकिङ क्षेत्रको शाखा घटेको हो, उनी भन्छन ।

बैंक तथा वित्तीय संस्थाले आफुले चाहेकै आधारमा शाखा संख्या घटाउन भने नपाउने उनको भनाई छ । शाखा घटाउनको लागि कुन शाखा घटाउने हो, घटाउनु पर्नाको कारण के हो, सो समेत उल्लेख गरी राष्ट्र बैंकमा आवेदन दिनुपर्छ । त्यसपछि राष्ट्र बैंकले शाखा घटाउन माग गरिएको क्षेत्रको समग्र वस्तु स्थितीको बारेमा अध्ययन गर्छ । शाखा घटाउँदा त्यहाँको बैंकिङ क्षेत्रको सेवामा पुग्न सक्ने असर समेतको बारेमा अध्ययन गर्छ । अन्त्यमा शाखा घटाउन उपयुक्त देखिएमा मात्र राष्ट्र बैंकले शाखा कटौतीको लागि अनुमती दिन्छ, सहायक प्रवक्ता न्यौपाने भन्छन ।






