काठमाडौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको तालिका सार्वजनिक गरेको छ। वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको पाँच सदस्यीय निर्वाचन समितिले मतदान आज राति ९ बजेदेखि १ बजेसम्म हुने व्यवस्था गरेको छ।
निर्वाचन समितिको सूचनाअनुसार मतदान प्रक्रिया आज दिउँसोदेखि सुरु हुनेछ। पहिलो मतदाता नामावली साढे १२ बजेसम्म प्रकाशित गरिनेछ भने अन्तिम मतदाता नामावली २ बजे सार्वजनिक गरिनेछ।
मनोनयन दर्ता प्रक्रिया २ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। उम्मेदवारहरूको पहिलो नामावली साढे ४ बजे प्रकाशित गरिनेछ भने अन्तिम नामावली राति ८:४५ बजे सार्वजनिक हुनेछ। मतदान प्रक्रिया राति ९ बजे सुरु हुनेछ।
विशेष महाधिवेशनमा हुने यो निर्वाचनले पार्टीको आगामी रणनीति र नेतृत्वलाई निर्धारण गर्नेछ।









