काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

ADVERTISEMENT

रास्वपाले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कानुनी प्रक्रिया अगाडि बढाउँदै पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने पार्टीको भनाइ छ। पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पार्टीको तर्फबाट पहल भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

ADVERTISEMENT

यसैबीच, पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई कडा निर्देशन जारी गरिएको जनाएको छ।