राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।
सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रमलाई लिएर लामिछानेले सिंहदरबारमा मधेस प्रदेशका सांसदहरूसँग बैठक गरेका हुन्। बैठकमा मधेस क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाका विषयमा छलफल भएको बताइएको छ।
बैठकमा सहभागी एक सांसदका अनुसार मधेस प्रदेशमा भइरहेका घटनाक्रमबारे गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ। सांसदहरूले पछिल्लो अवस्थाको व्यवस्थापन र सुरक्षा निकायको भूमिकाबारे सभापति लामिछानेसमक्ष असन्तुष्टि व्यक्त गरेका हुन्।
“मधेसमा भइरहेको घटनाक्रमबारे गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। गृहमन्त्रीप्रति सांसदहरूले आक्रोश व्यक्त गर्दै सभापतिलाई गुनासो गरिरहेका छौँ,” बैठकमा सहभागी सांसदले बताए।
रास्वपा सभापति लामिछानेले मधेस क्षेत्रको पछिल्लो अवस्थाबारे सांसदहरूको धारणा सुनेका छन्। बैठकमा उठेका विषय र पार्टीको आगामी धारणा भने सार्वजनिक गरिएको छैन।
सुनसरी घटनापछि मधेसका विभिन्न क्षेत्रमा देखिएको तनाव, सुरक्षा व्यवस्थापन र सरकारको भूमिकालाई लिएर राजनीतिक वृत्तमा बहस बढ्दै गएको छ।







