काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार सार्वजनिक लेखा समितिको बैठकबाट आक्रोशित हुँदै बाहिरिएका छन् ।

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि समितिमा छलफल भइरहेका बेला सुनारले उक्त प्रकरण छानबिन गर्न समिति गठनको माग गरेका थिए ।

भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई समितिबाट हटाइए पनि आपत्ति नहुने भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।

ADVERTISEMENT

‘भ्रष्टाचारको विरुद्धमा प्रश्न गरेबापत यो समितिबाट खगेन्द्र सुनारलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन, मलाई निकालिदिनुस् भोलिबाट,’ भन्दै उनी बैठकबाट बाहिरिएका हुन् ।

ADVERTISEMENT

यसो भनेर हिँडे सांसद सुनार :

आरोपितको प्रवक्ता भएर यहाँ प्रस्तुत हुने होइन । पीडितको विरुद्धमा यत्रो गम्भीर भ्रष्टाचारजस्तो आरोपको एउटा समितिभित्र छलफल भइरहेको छ । पीडितको विरुद्धमा छलफल गर्ने भन्ने हुन्छ ?

यति मात्र तपाईंको ध्यानाकर्षण के हो भने- कि यो समितिमा यो निवेदन नै नल्याउनुस् । के हामीले बाटोमा रोकेर सोधेको हो ? घर गएर सोधेको हो ? समितिमा छलफल गर्ने भनेर पाँच दिन पहिला पठाएर यी विषयमा छलफल हुँदै छ, भ्रष्टाचार भएको पीडित मान्छे लुकेर आएर ‘दाइ, मेरो नाम नभनिदिनुहोला, त्यहाँ गएर कुरा गरिदिनुहोला’ भनेर उसले बेनामी उजुरी दिन्छ, ‘मेरो नाम नभनिदिनुहोला है दाइ’ भनेर भन्छ । अनि यत्रो ठूलो समितिमा, यत्रो सञ्चारले देखेको ठाउँमा चाहिँ आरोपितहरूको पक्षपोषण गरेर उतापट्टी मुख फर्काएर ‘भोलि यो मुख…’ यस्तो कुरा पनि गर्न पाइन्छ यहाँ ? यो हुँदैन सभापतिज्यू !

फेरि पनि मेरो कुरा के हो भने- भ्रष्टाचारको विरुद्धमा प्रश्न गरेबापत यो समितिबाट, खगेन्द्र सुनारलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन, मलाई निकालिदिनुस् भोलिबाट !

तर, मेरो प्रश्न यही हो- हामी यहाँ के गर्न आएका छौँ ? मैले के भनेको छु ? कसैलाई दोषी करार गरेको होइन । एउटा पढेर, देखेर, बुझेर आएको सांसद, पत्रकार के बुझ्छ ? मैले के भनेको छु- छलफल आरोप लागिसकेपछि त्योमाथि छानबिन हुँदै गर्दा सम्बन्धित मान्छे त्यो पदमा बहाल हुनुहुँदैन भनेको । त्यहाँबाट हटाइनुपर्छ भनेको ! फेरि त्यो पछि चोखिसकेपछि आएर राख्नुपर्छ भनेको !

अनि के विषयमा छलफल हुँदै छ ? दोषी करार गर्ने यसो भन्ने… कसले गर्‍यो दोषी करार ? रेकर्ड हेरेर सुनाउनुस् सभापति ज्यू ! यो कुरा सभापतिले रुलिङ गर्नु पर्‍यो ! एउटा सांसदले भ्रष्टाचारको विरुद्धमा बोल्ने अनि बाँकी सांसदले ‘हो त नि, हो त नि’ भनेर चाहिँ मीठो, गुलियो कुरा गरेर यो समितिको गरिमा घटाउनु हुँदैन ! केही तरिकाको छलफल आगामी दिनमा पनि हुन्छ भने आजैको मितिबाट म यो समितिमा बस्दिनँ हेर्नुस् ! तपाईंले निकाल्नुहुन्छ भने ठीकै छ, तपाईंले निकालेको भयो, होइन भने…

र अर्को कुरा, विषयमा छलफल हुनुपर्‍यो ! यो विषयमा छलफल हुनुपर्‍यो । एउटा सांसदले बोलेको कुरा अर्को सांसदले… हामी पनि उहाँ सांसद जस्तै जितेर आएको सांसद हो ! जनताले यही कुरा गर्दा हुन्छ भनेर पठाएको ! अनि यसो गर्ने भन्ने हुन्छ ?

एउटा भ्रष्टाचार जस्तो जघन्य अपराधमा चाहिँ… यहाँ यहाँ के भनिएको छ ? छानबिन गरौँ ! अहिले नै धेरै उहाँहरू त केही पनि होइन… केही पनि होइन भने यसै तल्लो तलामा आउँदा साथी भन्दै हुनुहुन्थ्यो ‘बोल्न हुँदैन है आज त, केही छैन’ भनेर भन्दै हुनुहुन्थ्यो साथी । यहाँ आएर अर्कै कुरा गर्नुहुन्छ ! यस्तो थियो भने त मलाई पनि भनेको भए म पनि मीठै कुरा गर्थेँ त ! म पनि राम्रै कुरा गर्थेँ, ‘सबै मिलेर चोख्याउने नै तयारी भएको हो’ भन्दा ! होइन भने यो हुँदैन सभापतिज्यू !

पक्कै पनि यहाँ आएको विषयवस्तुमाथि तितो कुराले प्रश्न हुन्छ, छलफल हुन्छ । समितिमा विषयवस्तु ल्याउँदा गम्भीर ढंगले ल्याउनुहोला, होइन भने एउटा सांसदले अर्को सांसदलाई अपमान गर्ने ढंगबाट, पीडितको विरुद्धमा, गरिबका, सिपाहीका तल्लो पक्षमा हुँदैन ! म सिपाहीको पक्षमा छु, म १५ हजार म्यादी पुलिसको पक्षमा छु, १ लाख ३३ हजार म्यादी पुलिसको पक्षमा छु म ! म तल्लो वर्गको पक्षमा छु, पिछडिएको वर्ग, दलितको पक्षमा छु म ! राजा-महाराजाको प्रतिनिधित्व गर्न आएको होइन हामी ! कसैले चाहिँ यसो र त्यसो भनिदिएमा भुलिने कुरा होइन, सभापति ज्यूलाई मेरो गम्भीर ध्यानाकर्षण छ यसमा ।

यहाँ यो ल्याउने बेलामा पहिला ध्यान पुर्‍याउनुपर्‍यो, छलफल तितो हुन्छ, मुख मीठो बनाएर समितिमा यसमा चाहिँ छलफल गर्न पाइँदैन ! पहिला के थीममा हामी कहाँबाट आयौँ, कसरी आयौँ भन्ने कुरा त्यो पहिलाको कुरा पहिला हो । गम्भीर ढंगबाट, मजबुत ढंगबाट सुन्ने खालको काम हुँदैन, अन्यथा आजकै मितिबाट यो समितिमा बसिरहिँदैन । धन्यवाद