काठमाडौँ। नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीमा नयाँ पुस्ताको उदय स्वागतयोग्य र स्वाभाविक रहेको बताएका छन्। आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वर्तमान महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई ‘भोलिको कांग्रेस’को संज्ञा दिएका छन्।
नेता आचार्यले पार्टीको इतिहास र भविष्य दुवैलाई समान रूपमा सम्मान गर्नुपर्ने धारणा राख्दै भने, “मेरो शुभकामना छ दुई महामन्त्रीलाई, उहाँहरू भोलिको कांग्रेस हुन्। शेरबहादुरजी र उहाँको पुस्ता हिजोको कांग्रेस हुन्। हिजोको कांग्रेसलाई पनि मेरो सम्मान छ।”
उनले देशभरबाट उपस्थित कार्यकर्ताहरूको उपस्थिति नयाँ नेतृत्वप्रतिको आशा र उत्साहको प्रतीक भएको उल्लेख गरे। “भोलिको कांग्रेसलाई स्वागत गर्न मेची–महाकालीसम्मका साथीहरू यहाँ उपस्थित हुनुभएको छ,” उनले थपे।








