ललितपुर – ललितपुरमा नेपाली कांग्रेस प्रवेश गर्ने नेता–कार्यकर्ताको लहर तीव्र बनेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य रमेश बिष्टसहित तीन जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस प्रवेश गर्नेहरूमा एमालेका पूर्व जिल्ला सदस्यसमेत रहेका रमेश बिष्ट, विसंखु नारायणका वडा सदस्य प्रविण कुमार बिष्ट र रञ्जन बिष्ट रहेका छन्। कांग्रेस प्रवेश गरेलगत्तै उनीहरूलाई चुनाव परिचालन समितिको सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले जानकारी दिए ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले निर्वाचनपछि पार्टीभित्र उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाली कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित कांग्रेस निर्वाचनमा होमिएको उल्लेख गर्दै निर्वाचनपछि पनि कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे।
ललितपुर क्षेत्र नम्बर १ अन्तर्गतका २२ वटै वडा र स्थानीय तहमा अघिल्लो निर्वाचनमा कांग्रेसले जित हासिल गरिसकेको स्मरण गराउँदै राणाले यस क्षेत्र जित्न कुनै कठिनाइ नरहेको दाबी गरे ।

पार्टी प्रवेशपछि बोल्दै वडा सदस्य रमेश बिष्टले “वामपन्थी दलहरूमा बढ्दो संगठनात्मक विचलन, आन्तरिक असन्तुलन र जनताप्रतिको उत्तरदायित्व कमजोर बन्दै गएको कारण आफूहरू वैकल्पिक राजनीतिक धार खोज्न बाध्य भएको बताउनुभयो। उनले नेपाली कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी सोच र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिले आफूहरूलाई आकर्षित गरेको स्पष्ट धारणा राखे ।”
यसैबीच हिजो आइतबार कोन्ज्योसोम गाउँपालिका–नल्लुमा समेत नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका पूर्व तथा सक्रिय नेता–कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।









