काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र संस्थापन पक्षबीच जारी विवाद समाधानका लागि बुधबार बिहान महत्त्वपूर्ण छलफल हुने संकेत देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।

संस्थापन पक्ष निकट नेताहरूका अनुसार बिहान करिब ८ बजे छलफल गर्ने तयारी गरिएको थियो। पछिल्लो समय दुवै महामन्त्री सभापतिसँग असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला पनि भेट हुने सम्भावना बलियो बनेको छ। यसअघि पार्टीका केही नेताहरू देउवा निवास पुगेर महामन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्न सुझाव दिएका थिए।

पार्टीभित्र सहमतिको वातावरण बनाउन संस्थापनले केही लचकता देखाएमा महामन्त्रीहरू पनि सकारात्मक हुन सक्ने निष्कर्षमा नेताहरू पुगेपछि देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छलफललाई अघि बढाउने निर्णय गरेका थिए। यही कारण मंगलबार बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक–पटक सार्दै बुधबार बिहानका लागि तय गरिएको हो, यद्यपि बैठक अझै सुरु भइसकेको छैन।

विशेष महाधिवेशन पक्ष र संस्थापनबीच भएका पछिल्ला वार्ताहरू निर्णायक मोडमा पुग्न नसक्नुको मुख्य कारण सभापतिको भूमिकाबारे स्पष्ट निर्णय नआउनु रहेको बताइएको छ। विशेष महाधिवेशन पक्षले सभापतिले राजीनामा दिएर सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने वा कम्तीमा आगामी निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने प्रस्ताव राखेको थियो। तर यस्ता विषयमा अन्तिम निर्णय सभापतिबाटै आउनुपर्ने अडान लिँदा सहमति जुट्न सकेन।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी थिए। संस्थापनतर्फ देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए।

उता, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई निरन्तरता दिइएको छ। मनोनयन दर्ताको समयसमेत थप गर्दै बिहान सवा ८ देखि सवा ९ बजेसम्म कायम गरिएको छ। निर्वाचन प्रक्रिया अघि बढिरहेकै बेला मंगलबार दिनभर विशेष महाधिवेशन पक्ष, संस्थापन र शेखर कोइराला पक्षबीच चरणबद्ध छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेन।

आज बस्दै गरेको सभापति शेर बहादुर देउवा र महामन्त्रीद्वय गगन कुमार थापा विश्व प्रकाश शर्मा बिचको छलफलबाट कुनै एउटा बाटो लिन सक्ने बुझाई नेताहरुको रहेको छ र नेतृत्व परिवर्तन संगै पार्टी एकताको चाहना रहेको केन्द्रिय सदस्य प्रदीप पौडेल बताउछन्।