जनकपुरधाम। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अन्योलबीच मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय भएको छ।सत्तारुढ चार दलको आइतबार बसेको संयुक्त बैठकले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने तथा उनलाई यथाशीघ्र विश्वासको मत दिलाउने निर्णय गरेको हो।
चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले छिट्टै प्रदेश सभाबाट विश्वासको मत लिने बताएका छन्।बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी थिए।बैठकले प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्दै विकास निर्माण र सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यसअघि वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।जनमतको समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला सत्तारुढ चार दलको निर्णयले वर्तमान गठबन्धन कायमै रहने स्पष्ट संकेत दिएको छ।






