काठमाडौं । उच्च अदालत पाटनको एक आदेशले बुद्ध एयर प्रा.लि.का अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतलाई झड्का लागेको छ ।

बस्नेतले बुद्ध एयरका अल्पमत सेयरधनी अर्चना बस्नेतविरुद्ध २०८२ भदौ १७ गते उच्च अदालतमा अदालती शुल्कको विषयमा रिट निवेदन हालेका थिए । उनले १० करोड रुपैयाँ धरौटी राख्नुपर्ने माग रिट निवेदनमा गरेका थिए । सोमबार उच्च अदालतले १० महिनापछि अल्पमत सेयरधनी अर्चना बस्नेतको पक्षमा फैसला गरेको छ ।

ADVERTISEMENT

उच्च अदालतका न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र स्वीकृति पराजुलीको संयुक्त इजलासले एक हजार रुपैयाँ शुल्कलाई नै कायम गर्दै बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले माग गरेको १० करोड रुपैयाँको अदालती शुल्कसम्बन्धी माग खारेज गरिदिएको छ ।

ADVERTISEMENT

वीरेन्द्रबहादुरले आफूविरुद्ध मुद्दा लड्न अदालतमा १० करोड रुपैयाँ धरौटी राख्नुपर्ने माग गर्दै अल्पमत सेयरधनीलाई हतोत्साही गर्न खोजेका थिए । १० करोड रुपैयाँ धरौटी राखेर आफूविरुद्ध मुद्दा लड्न प्रतिवादीलाई आर्थिक रूपमा निकै गाह्रो हुने र मुद्दा लम्बिने उनको भित्री आशय रहेको आरोप छ । त्यसका लागि वीरेन्द्रबहादुरले बुद्ध एयर कम्पनीकै खाताबाट खर्च हुने गरी नेपालका चर्चित कानुन व्यवसायीहरूलाई बहसका लागि झिकाएका थिए ।

अदालती धरौटीसम्बन्धी रिट निवेदनमा बुद्ध एयरका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, श्यामप्रसाद खरेल, तुल्सी भट्ट, हरिहर दाहाल, पूर्णमान शाक्य, चण्डेश्वर श्रेष्ठ, महेशकुमार थापा, सतीशकृष्ण खरेल तथा अधिवक्ताहरू सन्तोषकुमार महतो र सुदीप खरेलले बहस गरेका थिए । तर पनि अदालतले अल्पमत सेयरधनीको कानुनी हक र अधिकारको पक्षमा फैसला गरेको छ ।

बुद्ध एयरको सेयरधनी भए पनि आफूविरुद्ध कम्पनीकै खाताबाट पैसा खर्च गरेर नाम चलेका अधिवक्ताहरूलाई बहसका लागि झिकाइएकोमा अर्चना बस्नेत पक्षले असन्तुष्टि जनाएको छ ।

अर्चना बस्नेत नाताले वीरेन्द्रबहादुरकी भाइबुहारी हुन् । कम्पनीमा उनको परिवारको ४० प्रतिशत सेयर स्वामित्व छ । तर ६० प्रतिशत सेयर स्वामित्व भएकै आधारमा वीरेन्द्रबहादुरले बुद्ध एयरमा एकलौटी गरिरहेका छन् ।

कम्पनीको आम्दानी र सम्पत्तिबारे उनले अल्पमत सेयरधनी पक्षलाई कुनै पनि जानकारी नदिने गरेको आरोप छ । ४० प्रतिशत सेयर स्वामित्व भएर पनि आफूहरूलाई साधारणसभामा समेत नबोलाइने गरेको अर्चना बस्नेतको गुनासो छ ।

सोही कारण उनले उच्च अदालत पाटन र कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतविरुद्ध रिट निवेदन तथा उजुरी दर्ता गरेकी छन् । तर शक्ति, पहुँच र पैसाको बलमा वीरेन्द्रबहादुरले अल्पमत सेयरधनीलाई आर्थिक र मानसिक तनाव दिँदै आएको आरोप लगाइएको छ ।