काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएका छैनन्। आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्रीको अनुपस्थिति देखिएको हो।

पार्टी स्रोतका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई बोलाइएको थियो। यद्यपि, महत्वपूर्ण छलफलका बीच महामन्त्रीद्वय थापा र शर्मा भने बैठकमा नआएको नेताहरूले बताएका छन्।

महामन्त्रीद्वयले यसअघि नै पार्टीभित्र देखिएका असहमति समाधानका लागि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छन्। सोही क्रममा उनीहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेको जनाइएको छ।

पार्टीको नेतृत्व, सांगठनिक दिशा र आन्तरिक निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र पछिल्लो समय मतभेद बढ्दै गएको देखिन्छ। त्यसको बावजुत पनि महामन्त्रीद्वयको विशेष पहलमा  विशेष महाधिवेशन हुने भएको  छ।