सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापा पाँच दिनको सर्लाही भ्रमणपछि आज काठमाडौं फर्किएका छन्। १२ माघमा सर्लाही–४ पुगेर घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भएका सभापति थापाले पार्टी नेता, कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाट गरी स्थानीय जनताको समस्या र अपेक्षा बुझ्न प्रयास गरेका थिए।

सर्लाही–४ का विकास र समृद्धिका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै थापाले सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय खोल्ने घोषणा पनि गरे। उनले स्थानीय समस्यामा निरन्तर सम्पर्क कायम राख्ने र गुनासो तथा माग प्रभावकारी रूपमा सम्बोधन गर्ने योजना सुनाए।
सर्लाही भ्रमणका क्रममा सभापति थापाले तटबन्ध, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजार व्यवस्थापन, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका प्रमुख समस्या र मुद्दा पहिचान गरेको बताए। उनले कृषि, सिँचाइ र सूचना प्रविधि सम्बन्धी टोलीहरूले अध्ययन र अनुसन्धान गरी समस्याको प्रतिवेदन तयार गर्ने जानकारी दिएका छन्।

जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किँदा उनले नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट पनि गरेका थिए। सभापति थापाले आगामी पाँच वर्ष पार्टीले मधेशका मुद्दा प्राथमिकताका साथ अघि बढाउने र मधेशले पूर्ण विश्वास दिए कांग्रेसको सरकार बन्ने विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे।









